हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २८ गतेदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्मको न्यूनतम भाडा अब २४ रुपैयाँ पुगेको छ। यसअघि ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो। यस्तै १० किलोमिटरसम्मको ३३ रुपैयाँ, १५ किलोमिटरसम्मको ३९ रुपैयाँ र २० किलोमिटरसम्मको भाडा ४४ रुपैयाँ कायम गरिएको छ। २० किलोमिटरभन्दा बढी दूरीका लागि ५० रुपैयाँ भाडा तोकिएको छ।
ट्याक्सी सेवाको शुल्कमा पनि वृद्धि गरिएको छ। अब ट्याक्सी चढ्ने बित्तिकै लाग्ने सुरुवाती शुल्क (फ्ल्याग डाउन) ५८ रुपैयाँ पुगेको छ भने प्रति २०० मिटरको यात्रामा १२ रुपैयाँका दरले भाडा लाग्नेछ। रात्रिकालीन ट्याक्सीको हकमा भने प्रति २०० मिटरको १७ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ।
उपत्यका बाहिर चल्ने लामो दूरीका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालबाहक सवारीमा २६.७१ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ। मालबाहक सवारीको भाडा प्रति किलोमिटर प्रति टन १८.७६ रुपैयाँ पुगेको छ।
साथै, यात्रुले १५ केजीसम्म सामान निःशुल्क लैजान पाउने र सोभन्दा बढी भएमा १० केजीसम्म प्रति केजी ५ रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था समेत राजपत्रमा उल्लेख गरिएको छ। इन्धनको मूल्य र अन्य प्राविधिक सूचकहरूलाई आधार मानी प्रदेश सरकारले यो भाडा समायोजन गरेको हो।







प्रकाशित २०८२/१२/२८ सनिबार ६:१४ बेलुका


