काठमाडौँ महानगरपालिकाले राजधानीमा रात्रिकालीन सार्वजनिक यातायातलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यले आगामी २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। महानगर प्रमुख तथा सरोकारवाला साझेदारबीच सम्पन्न बैठकपछि यस्तो निर्णय गरिएको हो।
महानगरका अनुसार बस सेवा दैनिक बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन विभिन्न मुख्य रुटहरूमा बस सञ्चालन गरिनेछ।
दक्षिण रुटअन्तर्गत एउटा बस ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। सोही रुटमा अर्को बस बुढानीलकण्ठबाट छुटेर गंगालाल अस्पताल, महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली र पुल्चोक हुँदै पुनः लगनखेल पुग्नेछ। साथै नयाँ सडक गेट (एनएसी अगाडि) बाट पनि एक बस सञ्चालन गरिनेछ। यस रुटको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको छ।
पूर्व–पश्चिम रुटअन्तर्गत एउटा बस थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। अर्को बस विमानस्थलबाट छुटेर तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन र कलंकी हुँदै थानकोटसम्म सञ्चालन हुनेछ। नयाँ सडक गेट (एनएसी अगाडि) बाट थप दुई बस थानकोट र विमानस्थलतर्फ छुट्ने व्यवस्था मिलाइएको छ। यस रुटको दूरी करिब २० किलोमिटर रहेको छ।
महानगरले दिएको जानकारी अनुसार विभिन्न चार विन्दुबाट बस सञ्चालन हुँदा प्रत्येक बस स्टपमा करिब २० मिनेटको अन्तरालमा बस उपलब्ध हुनेछन्।
रात्रिकालीन समयमा सार्वजनिक यातायातको अभावलाई अन्त्य गर्दै यात्रुहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने लक्ष्यका साथ यो सेवा सुरु गर्न लागिएको महानगरपालिकाले जनाएको छ।
प्रकाशित २०८२/१२/२८ सनिबार ६:३८ बेलुका


