नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी प्रतिनिधि सभाको आम निर्वाचनलाई ध्यानमा राख्दै देशभर सार्वजनिक यातायात सञ्चालन सहज बनाउन सडक मर्मत सम्भार र शान्ति–सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको आम निर्वाचन घोषणा गरेपछि विभिन्न राजनीतिक दलहरूले देशभर उम्मेदवारी दर्ता गरिसकेका छन्। यससँगै आम निर्वाचनको माहोलमा सार्वजनिक यातायातमा अत्यधिक चाप बढ्ने देखिएको महासंघको भनाइ छ।
विज्ञप्तिमा यस वर्षको वर्षायामका कारण देशका प्रमुख राष्ट्रिय तथा सहायक राजमार्गहरू—नारायणगढ–बुटवल सडक खण्ड, नौबिसे–मुग्लिन सडक खण्ड, बि.पी. राजमार्ग लगायत देशभरका सडकहरू अझै साँघुरो तथा खाल्टाखुल्टीयुक्त अवस्थामा रहेको उल्लेख गरिएको छ। यसले सार्वजनिक सवारी साधन सञ्चालनमा कठिनाइ पैदा गर्नुका साथै यात्रु र मतदातालाई गन्तव्यसम्म पुग्न अत्यधिक समय लाग्ने अवस्था सिर्जना गरेको महासंघले जनाएको छ।
महासंघले निर्वाचन अवधिमा सार्वजनिक सवारी साधनहरू सहज रूपमा सञ्चालन गर्न सम्बन्धित निकायमार्फत राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकहरूको यथाशीघ्र मर्मत सम्भार गरी खाल्टाखुल्टी पुर्ने र सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ। साथै, यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक शान्ति–सुरक्षाको उचित व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
महासंघका महासचिव डेकनाथ गौतम द्वारा जारि उक्त बिज्ञप्ति मा सार्वजनिक यातायात क्षेत्र आम नागरिक र लोकतान्त्रिक प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन सरकार र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताईएको छ ।



