काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी स्वरूप स्थगित गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आज (चैत २२) देखि पुनः सुचारू गरेको छ।
आयोगको मिति २०८२/१२/१८ को बैठकले मङ्सिर ६ गतेदेखि रोकिएको उक्त कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो विवरण मार्फत अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।
त्यस्तै, राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले आयोगको Pre-Enrollment प्रणालीमार्फत अनलाइन फाराम भरेपछि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भई फोटो र औँठाछाप सहितको जैविक विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइका विवरण अद्यावधिक गर्ने लगायतका सेवाका लागि पनि अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ।
आयोगले सम्बन्धित सबै नागरिकलाई आफ्नो मतदाता विवरण समयमै अद्यावधिक गर्न अनुरोध गरेको छ।

प्रकाशित २०८२/१२/२२ आईतबार ८:५१ बिहान


