गुल्मी, चैत्र ०९ — प्रतिनिधि सभा सदस्य निर्वाचन, गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले आफ्नो चुनावी अभियानको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार उनले निर्वाचन आयोगमा बुझाएको कुल चुनावी खर्च रु. १९,१८,१८२ रहेको उल्लेख गरेका छन्। खर्च विवरणमा मनोनयन दर्ताका लागि रु. १०,०००, सवारी साधन तथा इन्धनमा रु. ३,०१,९७२, खाना, खाजा तथा अस्थायी बसोबासमा रु. १,८६,३४०, प्रचारप्रसार सामग्री खरिदमा रु. १,६९,८७० खर्च भएको देखाइएको छ।
त्यस्तै, ५० वटा वडामा कार्यालय सञ्चालनका लागि रु. ६,५०,०००, सञ्चार खर्च रु. १,४०,०००, प्रतिनिधि परिचालनमा रु. ३,५०,०००, नमुना मतपत्र छपाइमा रु. ७०,००० तथा विविध शीर्षकमा रु. ४०,००० खर्च भएको विवरणमा उल्लेख छ।
ढकालका अनुसार चुनावी अभियानका लागि कुल रु. २२,०१,४०० सहयोग प्राप्त भएको थियो, जसमध्ये खर्च पश्चात् रु. २,८३,२१८ बचत रहेको छ। उनले उक्त बचत रकम गुल्मीको विकास तथा देशको उन्नतिका लागि विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सांसद ढकालले निर्वाचनका क्रममा मतदाता तथा समर्थकहरूले देखाएको विश्वास, माया र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आफू सधैं जनताको सेवामा समर्पित रहने बताएका छन्।

प्रकाशित २०८२/१२/०९ सोमबार ७:१२ बेलुका


