काठमाडौँ — काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै विशेष सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
आज मिति २०८२ चैत ९ गते सञ्चालन गरिएको उक्त अभियानमार्फत सार्वजनिक सवारीमा आरक्षण सिटको अनिवार्य कार्यान्वयन, भाडादर सूची स्पष्ट रूपमा देखिने स्थानमा टाँस गर्ने व्यवस्था, सवारी साधनमा CCTV क्यामेरा तथा GPS प्रणाली जडान गर्ने विषयमा विशेष जोड दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
कार्यक्रममा सवारी साधन सुरक्षित र जिम्मेवार ढंगले सञ्चालन गर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, क्षमता भन्दा बढी यात्रु नओसार्ने तथा यात्रुसँग सभ्य, शिष्ट र मर्यादित व्यवहार गर्ने विषयमा चालक तथा सहचालकलाई विस्तृत जानकारी दिइएको थियो।
ट्राफिक प्रहरीका अनुसार उक्त अभियानले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन प्रवर्द्धन तथा यात्रुहरूको सुरक्षित, सहज र भरपर्दो यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
🚦 “सुरक्षित यात्रा सबैको अधिकार, नियम पालना हाम्रो कर्तव्य” 🚦

तस्बिर :- ट्राफिक प्रहरी
प्रकाशित २०८२/१२/०९ सोमबार ६:३२ बेलुका


