काठमाडौं।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्।
साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जान चाहने श्रमिकहरूबाट कुनै पनि म्यानपावर कम्पनीले १० हजार रुपैयाँभन्दा बढी रकम असुल गरे तत्काल उजुरी दिन मन्त्री साहले अनुरोध गरेका छन्।
उनका अनुसार सरकारले तोकेको मापदण्ड विपरीत रकम असुल गर्ने म्यानपावरमाथि कडा कारबाही गरिनेछ। श्रमिकहरूलाई नडराई आफ्नो समस्या सार्वजनिक गर्न आग्रह गर्दै उनले सरकारले उपलब्ध गराएका निःशुल्क हेल्पलाइनमार्फत जानकारी दिन समेत आग्रह गरे।
यसका लागि ‘हेलो सरकार’ को टोल–फ्रि नम्बर ११११ तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘श्रमाधान’ कल सेन्टरको ११४१ मा निःशुल्क फोन गरी उजुरी दर्ता गर्न सकिनेछ।
मन्त्री साहले श्रमिकहरूको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी प्रक्रियालाई पारदर्शी र सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
प्रकाशित २०८२/१२/२२ आईतबार ९:४८ बिहान


