काठमाडौं: गायक तथा कलाकार शिव परियार ले आफूलाई गौरीबहादुर कार्की आयोग को प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा उल्लेख गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै स्पष्टीकरण दिएका छन्।
आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा परियारले उक्त आरोप वास्तविकतामा आधारित नभएको दाबी गरेका छन्। उनले वि.सं. २०८२ भाद्र २३ गते भएको जेन–जी आन्दोलन का क्रममा देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसबेला सत्य र आधिकारिक सूचना प्राप्त गर्न कठिन भएको बताएका छन्।
परियारका अनुसार भाद्र २४ गते सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने खबर बारम्बार देखेपछि त्यसको सत्यता बुझ्न उनले जिज्ञासामूलक प्रश्न मात्र राखेका थिए। “के यो सत्य हो?” भन्ने आशयको उक्त पोस्ट कुनै पनि प्रकारको पुष्टि वा भ्रामक सूचना फैलाउने उद्देश्यले नभएको उनको स्पष्टिकरण छ।

उनले सो पोस्टपछि प्राप्त प्रतिक्रियाबाट उक्त खबर गलत रहेको थाहा पाएपछि पोस्ट हटाएको पनि बताएका छन्। तर, त्यसपछि केही सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूले वास्तविक सन्दर्भ नबुझी आफूलाई ‘भ्रम फैलाउने’ भन्दै पूर्वाग्रही ढंगले समाचार प्रकाशन गरेको आरोप उनले लगाएका छन्।
यिनै सामग्रीका आधारमा आयोगको प्रतिवेदनमा आफूलाई भ्रामक प्रचार गर्ने व्यक्तिको रूपमा उल्लेख गरिएकोप्रति उनले दुःख व्यक्त गर्दै उक्त निष्कर्ष पुनर्विचार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन्।
परियारले यस घटनाले आफ्नो व्यक्तिगत प्रतिष्ठा र कलाकारको सामाजिक छविमा नकारात्मक असर परेको उल्लेख गर्दै आवश्यक परे पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
अन्त्यमा उनले दर्शक तथा श्रोताहरूप्रति सधैं जिम्मेवार र सकारात्मक योगदान दिने प्रतिबद्धता जनाउँदै सबैलाई भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गरेका छन्।
प्रकाशित २०८२/१२/१६ सोबमार ९:४६ बिहान


