काठमाडौं — नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै विरोध कार्यक्रम घोषणा गरेको छ।
कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई “पूर्वाग्रही र अपुरो” भन्दै त्यसकै आधारमा गरिएको पक्राउलाई गैरन्यायिक र अमर्यादित कार्यको संज्ञा दिइएको छ।
विज्ञप्तिमा हिजो गठन भएको बालेन शाह नेतृत्वको सरकारले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई “प्रतिशोधपूर्ण, अमानवीय, गैरन्यायिक र स्वेच्छाचारी ढंगले” पक्राउ गरेको आरोप लगाइएको छ। यसलाई कमिटीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्रमाथिको प्रहारका रूपमा व्याख्या गर्दै घोर निन्दा र भत्सर्ना गरेको छ।
एमालेले देशलाई द्वन्द्वतर्फ धकेल्न नदिन अध्यक्ष ओली र नेता लेखकलाई बिना शर्त रिहा गर्न सरकारसँग जोडदार मागसमेत गरेको छ।
यसैबीच, पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार विरोध कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका सबै कमिटी र जनसंगठनलाई निर्देशन दिइएको छ।
घोषित कार्यक्रम अनुसार:
२०८२ चैत १४ गते अपराह्न ३ बजे काठमाडौं उपत्यकामा माइतीघर मण्डलामा तथा उपत्यका बाहिर प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरिनेछ।
२०८२ चैत १५ गते मध्यान्ह १२ बजे जिल्ला कमिटीको आयोजनामा सम्बन्धित जिल्ला सदरमुकामबाट जुलुससहित जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाइनेछ।
विज्ञप्तिमा उल्लिखित यी कार्यक्रममार्फत सरकारको कदमविरुद्ध सशक्त विरोध जनाइने एमालेले जनाएको छ।

प्रकाशित २०८२/१२/१४ सनिबार २:५२ दिउँसो


