काठमाडौं — नेपाल निर्माण उद्योग परिषद्ले केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाएको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई निजी निवास गुण्डुबाट पक्राउ गरिएको घटनाको घोर भर्त्सना तथा निन्दा गरेको हो।
परिषद्ले विज्ञप्तिमा राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण भावनाबाट प्रेरित भई गरिएको उक्त पक्राउलाई लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिनेहरूमाथिको प्रहारको रूपमा व्याख्या गरेको छ। साथै, ओलीलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि पार्टीमाथि आएको यस कठिन परिस्थितिमा एक शुभेच्छुक संस्थाको हैसियतले परिषद् एमालेले गर्ने हरेक आन्दोलन र गतिविधिमा सक्रिय सहभागी हुने प्रतिबद्धता जनाउँछ। साथै देशभरका परिषद् आवद्ध निर्माण व्यवसायी तथा सदस्यहरूलाई उक्त पक्राउको विरोधमा उभिन र ओलीको तत्काल रिहाइको माग गर्दै आन्दोलनमा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
विज्ञप्तिमा महासचिव राम शरण देउजा र अध्यक्ष बलि भद्र रानाको हस्ताक्षर रहेको छ।
जेन–जी आन्दोलनको छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा आज बिहान गुण्डुस्थित आफ्नै निवासबाट उहाँलाई पक्राउ गरिएको थियो। पक्राउ परेका ओलीलाई प्रारम्भमा प्रहरी परिसर लगिएको भए पनि केही समयमै स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएको थियो। हाल उहाँ सोही अस्पतालमा भर्ना हुनु भएको छ।

प्रकाशित २०८२/१२/१४ सनिबार २:२८ दिउँसो


