काठमाडौं। नेपाली कांग्रेस ले भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिन गर्नुपर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ। शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले प्रारम्भदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै आएको जनाएको छ।
कांग्रेसका अनुसार २०८२ भदौ २५ गते नै घटनाको छानबिनका लागि माग गरिएको थियो भने भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्का को सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो।
त्यसैगरी, यही चैत ६ देखि ८ गतेसम्म बसेको पार्टी बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको जनाएको छ। तर, प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियामा पारदर्शिता नभएको र अहिलेसम्म विधिसम्मत रूपमा सार्वजनिक नगरिएकोप्रति कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।
विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएको विवरणप्रति टिप्पणी गर्दै आयोगले भदौ २३ का घटनालाई प्राथमिकताका साथ अध्ययन गरे पनि २४ गतेका घटनालाई नजरअन्दाज गरेको देखिएको उल्लेख गरिएको छ। यसले विधिको शासन विपरीत एकपक्षीय र अपूर्ण प्रतिवेदनको संकेत गर्ने कांग्रेसको ठहर छ।
कांग्रेसले तत्कालीन शुशीला कार्की नेतृत्वको सरकारले प्रतिवेदन अध्ययनपछि मात्र सार्वजनिक गर्ने निर्णय गरेको सन्दर्भमा चैत १३ गते मन्त्रिपरिषद्ले आंशिक कार्यान्वयन गर्ने निर्णय गर्नु र हतारमा पक्राउ प्रक्रिया अघि बढाउनु “सेलेक्टिभ” व्यवहार भएको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ कि दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्छ। तर आवेग र पूर्वाग्रहका आधारमा गरिने निर्णयले विधिको शासन कमजोर पार्ने र देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने खतरा रहेको चेतावनी कांग्रेसले दिएको छ।
कांग्रेसले अन्त्यमा सरकारलाई संयमित, परिपक्व र कानुनी प्रक्रिया अनुसार अघि बढ्न आग्रह गर्दै पीडितलाई न्याय सुनिश्चित गर्न जोड दिएको छ।


प्रकाशित २०८२/१२/१४ सनिबार ६:५९ बेलुका


