काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बालेन्द्र शाह नेतृत्वको सरकारले पक्राउ गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर आपत्ति जनाउनु भएको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमा भण्डारीले जेन–जी आन्दोलनको छानबिन गर्न गठित ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको हो।
उहाँले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको अध्ययनहरूले देखाएको सन्दर्भमा सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै ओली र लेखकलाई पक्राउ गर्नु अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उल्लेख गर्नुभएको छ।
भण्डारीले यस्तो निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताउँदै कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने धारणा राख्नुभएको छ।
उहाँका अनुसार हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।
सुशासनलाई मुख्य एजेन्डा बनाएको वर्तमान सरकारले यस्तो अपरिपक्व कदम चाल्नु दुःखद् भएको उल्लेख गर्दै भण्डारीले लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गर्नुभएको छ।
साथै, सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गरिएको छ।

प्रकाशित २०८२/१२/१४ सनिबार ४:३० दिउँसो


