पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनाबारे सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको भन्दै त्यसको पछि नलाग्न आम नागरिकलाई आग्रह गरेका छन्। बुधबार साँझ आफ्नो फेसबुकमार्फत लामो स्पष्टिकरण दिँदै उनले प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा निराधार भएको बताएका हुन्।
ओलीले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश न त दिएको, न दिन सोच्न सक्ने स्पष्ट पारेका छन्। घटनापछि तत्कालै पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै उनले ज्यान गुमाएका १९ जना नानी–बाबुहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनका अनुसार, घटनाको दिन घुसपैठको सम्भावना देखिएकाले माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरिएको थियो। तर पछि युवाहरूले शान्तिपूर्ण प्रदर्शनको अनुमति मागेपछि प्रशासनले सहज रूपमा अनुमति दिएको थियो। माइतीघरमा बिहान सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको र त्यहाँ न गोली चलेको, न लाठी प्रहार भएको ओलीको दाबी छ।
ओलीले करिब दिउँसो १२ बजेतिर घुसपैठ गर्ने समूहले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ उक्साएको आरोप लगाएका छन्। आयोजकहरूले पटक–पटक घुसपैठ भएको जानकारी दिँदै युवाहरूलाई घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका तथा विद्यालय पोशाकमा रहेका नानी–बाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजेको उनको भनाइ छ।

संसद् भवन अगाडि आगजनीको प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि त्यसलाई कानुनले “आन्दोलन” नभई “राज्यविरुद्धको हमला” मान्ने ओलीको तर्क छ। संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुन अनुसार सुरक्षा निकायले बल प्रयोग गर्नुपरेको र त्यसपछि भएका घटनाले सबैलाई गहिरो पीडा दिएको उनले उल्लेख गरेका छन्।
ओलीले विश्वका जुनसुकै देशमा पनि संवैधानिक अंगहरूको सुरक्षाका लागि सुरक्षाकर्मी हतियारसहित चौबीसै घण्टा तैनाथ हुने उल्लेख गर्दै उनीहरूले सरकारको होइन, कानुनको सपथ लिने बताएका छन्। त्यस दिन पनि सरकारको आदेशमा नभई कानुनको दायराभित्र रहेर गोली चलेको उनको स्पष्टिकरण छ।
उनले भदौ २४ गते भएको विध्वंशप्रति पनि ध्यानाकर्षण गराउँदै आफ्नो राजीनामा पछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत संरचनामा आगजनी भएको बताएका छन्।
अन्त्यमा ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो निषेधित र संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्यायो भन्ने प्रश्न उठाउँदै त्यसको जवाफ खोज्न आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न सबै नागरिकलाई विनम्र अनुरोध गरेका छन्।
प्रकाशित २०८२/१०/१४ ७:४८


