जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चार माध्यममार्फत मतदाताको गोपनीयता भङ्ग हुने गरी प्रश्न सोध्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधिमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपानेले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाता सँग ‘कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ’ भनी प्रश्न गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको जनाएका छन्।
विज्ञप्तिमा यस किसिमको कार्यले मतदाताको गोपनीयता भङ्ग हुने उल्लेख गर्दै निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम यो आचारसंहिता उल्लङ्घन भएको स्पष्ट पारिएको छ। साथै सूचना जारी भएपछि कसैले पनि यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रकाशित २०८२/१०/१९ ३:५८


