प्रधानमन्त्री सुशीला कार्कीले हिजो सम्पन्न राष्ट्रिय सभाको बैठकमा पहिलो पटक सम्बोधन गर्दै मन्त्रीहरूले राजीनामा दिएर निर्वाचनमा गएको विषयमा प्रस्ट पार्नु भएको छ।
प्रधानमन्त्री कार्कीले केही मन्त्रीहरू निर्वाचनमा जाने निर्णयप्रति उठिरहेका आलोचना प्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “गाली गर्ने नै हो भने मलाई गर्नुस्, तर उहाँहरूलाई नगर्नुस्।” उहाँले जगदीश खरेल, कुमान घिसिङ, बब्लु गुप्ता र महावीर पुनलाई सरकारमा ल्याउनुपर्ने माग जेन–जी पुस्ताबाट आएको बताउनुभयो।
प्रधानमन्त्रीका अनुसार ती मन्त्रीहरूलाई सरकारमा ल्याउन आफूलाई दबाब थियो तर उनीहरूले चाहेको बेला पद छाडेर जाने स्वतन्त्रता पनि स्पष्ट रूपमा राखेका थिए। “उहाँहरूको आ–आफ्नो व्यक्तिगत जीवन छ, उमेर पनि छ। त्यसैले निर्वाचन लड्न जानुभएको हो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो।
उहाँले राजीनामा दिएको दिनदेखि ती मन्त्रीहरूसँग आफ्नो कुनै सम्पर्क नभएको र सरकारसँग उनीहरूको कुनै किसिमको माग पनि नरहेको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले महावीर पुनको सन्दर्भमा विशेष रूपमा उल्लेख गर्दै भन्नुभयो कि उहाँ केही विषयमा असन्तुष्ट भएर राजीनामा दिएर जानुभएको हो। “महावीर पुनज्यूले दुई–तीनवटा महत्वपूर्ण एजेन्डा अघि सार्नुभएको थियो, तर छोटो समयमा ती काम पूरा गर्न सकिएन। त्यसैले उहाँ निर्वाचनमा जानुभएको हो,” प्रधानमन्त्रीको भनाइ थियो।
प्रकाशित २०८२/१०/२० ७:१२


