काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि गरिएको कडाइका क्रममा मंगलबार मात्र १२ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको चेकजाँच तथा कारबाहीका क्रममा जम्मा २ हजार २२ जना चालक कारबाहीमा परेका हुन्। तीमध्ये सबैभन्दा बढी मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने ९८ जना चालक कारबाहीमा परेका छन्।
यस्तै, सवारी साधनको अवस्था ठीक नभएको ५२, रेड लाइट उल्लङ्घन गर्ने १४८, तीव्र गतिमा सवारी चलाउने ९४, लेन मिच्ने २१६, ढोका खुल्ला राखेर सवारी चलाउने ५३, नो–हर्न नियम उल्लङ्घन गर्ने २२, पिक–अप तथा ड्रप सम्बन्धी नियम उल्लङ्घन गर्ने ३६ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न कसुरमा १ हजार ३२२ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेहरूमाथि नियमित रूपमा निगरानी तथा कारबाहीलाई अझ कडाइ गर्दै लैजाने जनाएको छ। साथै, सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न अनुरोध गर्दै सुरक्षित यात्राका लागि सबैको सहकार्य आवश्यक रहेको बताइएको छ।

प्रकाशित :- २०८२/१२/२५ बुधबार ८:३८ बिहान


