काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नेपाल भित्र भारतीय नम्बर प्लेटका सवारी साधनको अवैध सञ्चालनले स्वदेशी यातायात व्यवसायीहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले भारतीय सवारी साधनहरू नियम अनुसार एक दिनको अनुमति (डे–पास) लिएर नेपाल प्रवेश गरेपछि सोही दिन फर्किनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसको पालना नभएको बताउनुभयो।
उहाँले यस्ता सवारी साधन नेपालभित्र लामो समयसम्म सञ्चालन हुँदा दुर्घटना भएमा पीडितले उचित क्षतिपूर्ति नपाउने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो। साथै, उच्च भन्सार तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्वदेशी यातायात व्यवसायीहरू यस्ता अवैध गतिविधिबाट प्रत्यक्ष मारमा परेको उहाँको भनाइ छ।
सांसद डाँगीले मेची सीमाक्षेत्र मात्र नभई देशभरका सीमावर्ती क्षेत्रमा यस्तै समस्या रहेको औंल्याउँदै सरकारसमक्ष तीन प्रमुख माग अघि सार्नुभयो। उहाँका मागहरूमा सीमाक्षेत्रमा प्रभावकारी अनुगमनको व्यवस्था गर्न, डे–पासको दुरुपयोग तत्काल रोक्न तथा सीमाक्षेत्रका यातायात व्यवसायीहरूको लगानी संरक्षण सुनिश्चित गर्नुपर्ने रहेका छन्।
प्रकाशित २०८२/१२/२५ बुधबार २:३३ दिउँसो


