काठमाडौं । ट्राफिक प्रहरीले सोमबार मात्र विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गर्दै ११ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार सोहि दिन २ हजार ४५ सवारी चालक कारबाहीमा परेका थिए। मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८० जना, सवारी साधनको अवस्था ठीक नभएका ४१ जना, रेड लाइट उल्लङ्घन गर्ने ८६ जना र तीव्र गतिमा सवारी चलाउने ८५ जना चालक कारबाहीमा परेका छन्।
यस्तै, लेन मिच्ने २३९ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ४३ जना, नो हर्न क्षेत्र उल्लङ्घन गर्ने ५८ जना तथा पिकअप–ड्रप नियम उल्लङ्घन गर्ने ४३ जना चालकलाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न कसुरमा १ हजार ३७० जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाहीलाई अझ कडाइका साथ अगाडि बढाइने जनाएको छ।
प्रकाशित :- २०८२/१२/२४ मंगलबार ८:०६ बिहान


