काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले आज पहिलो पटक संघीय संसदमा सम्बोधन गर्दै आफ्नो क्षेत्रका प्रमुख समस्याहरू जोडदार रूपमा उठाएकी छन्।
सधैं निडर र हँसिलो स्वभावका रूपमा चिनिने तामाङ आज सदनमा बोल्दा केही नर्भस देखिए पनि अत्यन्तै संयमित र सम्बोधनशील ढंगले प्रस्तुत भएकी थिइन्। शून्य समयमा बोल्दै उनले धादिङ जिल्लामा देखिएका विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन्।
उनले विशेषगरी मुग्लिन–नागढुंगा सडक खण्डको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दाले ठूलो सास्ती खेप्नु परेको उल्लेख गरिन्। राजधानीसँग जोडिएको महत्वपूर्ण सडक नै ढिलाइ हुँदा जनजीवन प्रभावित भएको भन्दै उनले उक्त सडक छिटो निर्माण सम्पन्न गर्न सरकारसँग माग गरिन्।
त्यसैगरी, त्रिशुली नदीमा भइरहेको नदी दोहन तथा उत्खननले वातावरणमा गम्भीर असर परेको विषय पनि उनले उठाइन्। अनियन्त्रित उत्खननका कारण स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएको भन्दै यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
सांसद तामाङले आफ्नो पहिलो सम्बोधनमै जनताको समस्या स्पष्ट रूपमा उठाउँदै समाधानका लागि सरकारलाई दबाब दिने संकेत गरेकी छन्।
प्रकाशित २०८२/१२/२४ मंगलबार २:३३ दिउँसो


