काठमाडौं । नेपालमै विकसित तथा सञ्चालनमा रहेको La Basam Ride Sharing App ले राइडरहरूसँग प्रत्यक्ष संवाद गर्न खुला छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। कम्पनीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राइडरहरूले उठाएका गुनासा, माग तथा समस्याहरूलाई प्रत्यक्ष रूपमा सुनी समाधानतर्फ अग्रसर हुन यस्तो कार्यक्रम गर्न लागिएको जनाएको हो।
विज्ञप्ति अनुसार, राइडरहरूको हकहित, सुरक्षा र सम्मान प्रति प्रतिबद्ध रहेको La Basam ले आपसी संवाद, सहकार्य र समझदारी मार्फत मात्रै दीगो समाधान सम्भव हुने विश्वास व्यक्त गरेको छ। साथै, Pro Rider, IDF लगायत स्वतन्त्र चालक तथा विभिन्न समूहहरूलाई कार्यक्रममा सहभागी भई आफ्ना धारणा, सुझाव तथा गुनासा राख्न आग्रह गरिएको छ।
पछिल्लो समय केही राइडरहरूले विदेशी मोबाइल एप्लिकेशनहरूले श्रम शोषण गरिरहेको भन्दै आवाज उठाइरहेका थिए । यसै सन्दर्भमा केही दिन अघि नेपाली एप्लिकेशन Sajilo ले राइडरहरूसँग छलफल गरी प्रति किलोमिटर २५ रुपैयाँ दर निर्धारण गरेको थियो। राइडरहरूले विदेशी एप्लिकेशन प्रयोग नगर्ने अभियान समेत चलाइरहेका छन्।
यहिँ परिवेशमा अर्को नेपाली एप्लिकेशन La Basam ले पनि राइडरहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्या समाधानको पहल थालेको हो।
उक्त छलफल कार्यक्रम २०८३ चैत २५ गते बुधबार बिहान ११ बजे तारकेश्वर नगरपालिका–८, नयाँबस्तीस्थित La Basam कार्यालयमा आयोजना हुने जनाइएको छ। कार्यक्रममा सहभागी भई आफ्ना समस्या तथा सुझाव प्रस्तुत गर्न कम्पनीले सम्पूर्ण राइडरहरूलाई आह्वान गरेको छ।

प्रकाशित २०८२/१२/२३ सोमबार ६:३७ बेलुका


