काठमाडौं ।
ट्राफिक प्रहरीले आईतबार मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गर्दै उल्लेख्य राजस्व संकलन गरेको जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार एकै दिनमा १,७८९ सवारी साधनका चालक कारबाहीमा परेका छन्। ती कारबाहीबाट कुल १३ लाख २८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको छ।
कारबाहीमा परेकामध्ये सबैभन्दा बढी ‘अन्य’ शीर्षक अन्तर्गत १,०८३ सवारी साधन रहेका छन्। त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १११ जना, सवारी साधनको अवस्था ठीक नभएका ५६, रेड लाइट उल्लङ्घन गर्ने १०४, तीव्र गतिमा सवारी चलाउने ११४ र लेन मिच्ने १८५ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी, ढोका खुल्ला राखेर सवारी चलाउने ५५, नो हर्न उल्लङ्घन गर्ने ३२ तथा पिकअप–ड्रप सम्बन्धी नियम उल्लङ्घन गर्ने ४९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाहीलाई अझ कडाइका साथ अगाडि बढाइने जनाएको छ।

प्रकाशित :- २०८२/१२/२३ सोमबार ७:५२ बिहान


