काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद आशिष गजुरेल ले सडक दुर्घटनाका कारण भइरहेको मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। सदनमा बोल्दै उहाँले नेपालमा दैनिक औसतमा ७ जनासम्म नागरिक सडक दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार घरबाट सुरक्षित रूपमा बाहिरिएका नागरिकहरू दुर्घटनाका कारण घर फर्किन नसक्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको छ। सडक सुरक्षाको अवस्था कमजोर रहेको औंल्याउँदै उहाँले यस क्षेत्रमा राज्यले पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गर्नुभयो। दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना र कडाइका साथ कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ थियो।
सांसद गजुरेलले सडक दुर्घटना न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार भइसकेको “सडक सुरक्षा सम्बन्धी ऐन” को मस्यौदा यथाशीघ्र संसदमा प्रस्तुत गर्न सरकारसँग आग्रह गर्नुभयो। उक्त ऐनले सवारी चालक, यात्रु तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै स्पष्ट नीतिगत व्यवस्था गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
यातायात क्षेत्रका विज्ञका रूपमा समेत परिचित सांसद गजुरेलले आफ्नो अनुभवका आधारमा नीति निर्माणमा व्यवहारिकता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले ट्राफिक व्यवस्थापन, सडक पूर्वाधार सुधार, चालक प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिँदै समग्र रूपमा सुरक्षित यातायात प्रणाली निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
प्रकाशित २०८२/१२/२४ मंगलबार ६:३८ बेलुका


