काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङले सदनमा पहिलो पटक सम्बोधन गरेपछि आफ्नो अनुभूति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
उनले आफ्नो विगतको एक अनुभव स्मरण गर्दै सार्वजनिक रूपमा बोल्दा कस्तो मानसिक अवस्था हुन्छ भन्ने कुरा व्यक्त गरेकी छन्। तामाङले करिब ७ वर्षअघि जर्मनीबाट नेपाल आउँदा सडक जामको क्रममा एक व्यक्तिले चाउचाउको खोल सडकमा फालेको देखेको प्रसंग उल्लेख गरेकी छन्। सो घटनामा आफूले साहस जुटाएर प्रश्न गरे पनि त्यतिबेला अत्यन्त डर, संकोच र नर्भस महसुस भएको उनले बताएकी छन्।
उक्त अनुभवसँगै उनले आजको आफ्नो संसदीय पहिलो सम्बोधनलाई जोड्दै लेखेकी छन्, “आज मेरो सदनको पहिलो दिन थियो। मनमा डरत्रास नभए पनि स्वतः रूपमा बोली कामिरहेको थियो।”
तामाङले आगामी दिनमा अझै सशक्त रूपमा जनताको आवाज सदनमा उठाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, “आगामी दिनहरूमा अझै बुलन्द रूपमा तपाईंहरूको आवाज सदनमा राख्ने संकल्प गर्दछु।”
प्रकाशित २०८२/१२/२४ मंगलबार ७:३१ बेलुका


