काठमाडौँ । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ग ले गृहमन्त्री सुदन गुरुङ सँग दुई प्रमुख विषयमा जवाफ माग गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले हालैको ‘Gen Z आन्दोलन’सँग सम्बन्धित घटनाहरू र गृहमन्त्रीमाथि उठेका आरोपबारे स्पष्टता दिन आग्रह गरेका हुन्।
साम्पाङ्गले २३ गतेको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही अघि बढाएकोमा गृहमन्त्रीको कदमको प्रशंसा गरेका छन्। “गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गर्नु सकारात्मक कदम हो,” उनले उल्लेख गरेका छन्।
तर उनले २४ गतेको घटनामा संलग्न दोषीहरूमाथि पनि समान रूपमा कारबाही हुनुपर्ने माग राखेका छन्। साथै, जीबी राईलाई पक्राउ गरी रवि लामिछाने लाई न्याय दिलाउनुपर्ने विषयलाई पनि उनले प्राथमिकताका साथ उठाएका छन्।
यसैबीच, गृहमन्त्री गुरुङको नाममा पोखराको फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको भन्ने विषय सामाजिक सञ्जालमा चर्चामा आएको उल्लेख गर्दै साम्पाङ्गले त्यसबारे यथार्थ सार्वजनिक गर्न आग्रह गरेका छन्। “यो नैतिकताको सवाल हो, पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्नुपर्छ,” उनले भनेका छन्।
प्रतिपक्षी नेताको हैसियतले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै साम्पाङ्गले आफ्ना धारणा व्यक्तिगत नभई पूर्ण रूपमा पदीय र कानुनी आधारमा रहेको स्पष्ट पारेका छन्।
साम्पाङ्गको लेख जस्ताको त्यस्तो हेर्नुस्
प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई “हर्क दाइ” भन्नु हुन्छ ! त्यो साइनोले “भाइ हो तपाइँ मेरो” मलाई “हर्क जी” भन्नु हुन्छ ! त्यो अर्थमा “साथी हो तपाइँ मेरो” तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ “माननीय गृह मन्त्री ज्यु” हुनुहुन्छ ! With respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो ! धन्यवाद सबैले दिएकाछन् ! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु ! त्यो दिन चाँडै आवोस् ! जय देश !
प्रकाशित २०८२/१२/२३ सोमबार ९:२३ बिहान


