काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पा ले प्रधानमन्त्रीसँग हिजो भएको छलफलमा सगरमाथा क्षेत्रमा देखिएको ‘फेक उद्धार’ समस्या, खुम्बु क्षेत्रको गोरक्षेपमा 4G सेवा अवरुद्ध भएको अवस्था तथा ग्रेट हिमालयन ट्रेल (GHT) मा लगानी प्रवर्द्धनको आवश्यकता सम्बन्धी विषय उठाएको बताएका छन्।
सांसद शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै सगरमाथा क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको ‘फेक उद्धार’ प्रकरणबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा उद्धार व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र नियमनकारी बनाउन आवश्यक रहेको बताएका छन्।
पछिल्लो समय हिमाली क्षेत्रमा केही पर्यटकलाई अनावश्यक रूपमा हेलिकोप्टर उद्धार गराइएको, बीमा दाबीका लागि योजनाबद्ध उद्धार गराइएको तथा पर्यटन क्षेत्रको छवि प्रभावित हुने गतिविधि बढेको भन्दै ‘फेक उद्धार’ विषय चर्चामा आएको छ। यसले नेपालका पर्वतीय पर्यटन र उद्धार प्रणालीप्रति अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठाउने अवस्था सिर्जना गरेको सरोकारवालाहरू बताउँछन्।
त्यसैगरी, उनले खुम्बु क्षेत्रको गोरक्षेप मा नेपाल टेलिकम र Ncell का टावरहरू रहे पनि विगत केही वर्षदेखि 4G सेवा सञ्चालनमा आउन नसकेको विषय उठाउँदै यथाशीघ्र सेवा सुचारु गर्न आग्रह गरेका छन्। गोरक्षेप क्षेत्र सगरमाथा आधार शिविर पुग्ने प्रमुख मार्गमा पर्ने भएकाले सञ्चार सेवा प्रभावकारी हुनु अत्यन्त आवश्यक मानिन्छ।
सांसद शेर्पाले ताप्लेजुङदेखि हुम्लासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल मा लगानी प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि प्रधानमन्त्रीसमक्ष राखेको बताएका छन्। उनका अनुसार यस क्षेत्रमा पूर्वाधार, पर्यटन सेवा र स्थानीय रोजगारी विस्तारका लागि दीर्घकालीन योजना आवश्यक छ।
सगरमाथा क्षेत्र, खुम्बु र समग्र हिमाली पर्यटनसँग सम्बन्धित यी विषयमा सरकारको ध्यानाकर्षण गराइएको भन्दै उनले शीघ्र सकारात्मक पहलको अपेक्षा व्यक्त गरेका छन्।
प्रकाशित २०८३/०१/०३ बिहिबार १२:४३ दिउँसो


