काठमाडौं, वैशाख ३ — उपसभामुख रुबी कुमारी ठाकुर ले विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गर्न आग्रह गर्दै दाइजो प्रथाविरुद्ध सामाजिक अभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जाल Facebook मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभामुख ठाकुरले हाल आफूले धेरै विवाहका निमन्त्रणापत्र प्राप्त गरिरहेको भए पनि अधिकांश कार्डमा ‘दहेज मुक्त विवाह’ भन्ने उल्लेख नदेखिएको बताउनु भएको हो । यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उहाँको भनाइ छ।
उनले दाइजो लिनु र दिनु मात्र नभई दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उल्लेख गर्नु भएको छ । यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुग्ने उहाँ बताउनु भएको छ ।
उपसभामुख ठाकुरले समाज परिवर्तन र देश विकासको सपना देख्ने हो भने परिवर्तनको सुरुवात व्यक्तिगत तहबाटै गर्नुपर्नेमा जोड दिनु भएको छ । सानो व्यक्तिगत कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने उहाँ को विश्वास छ।
उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन असमर्थ रहने जानकारी दिँदै सबैलाई दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह संस्कृतिलाई प्रोत्साहन गर्न आग्रह गर्नु भएको छ ।
साथै, विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरेर पठाउन उनले हार्दिक अनुरोध गर्नु भएको छ ।
उपसभामुख ठाकुरले अन्त्यमा सबैलाई मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चाल्न आह्वान गर्नु भएको छ ।

प्रकाशित २०८३/०१/०३ बिहिबार ९:११ बिहान


