काठमाडौं — काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि बुधबार गरिएको कारबाहीबाट २० लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने २ हजार ३ सय ८८ चालक कारबाहीमा परेका हुन्।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८० जना चालक कारबाहीमा परेका छन्। यस्तै, सवारी साधनको अवस्था ठीक नभएका ४६, रेड लाइट उल्लंघन गर्ने १९३, तीव्र गतिमा सवारी चलाउने ८९, लेन अनुशासन उल्लंघन गर्ने १७९ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी ढोका खुला राखेर सवारी चलाउने ५३, नो हर्न क्षेत्रमै हर्न बजाउने ६६, पिकअप तथा ड्रपसम्बन्धी नियम उल्लंघन गर्ने २९ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ। अन्य विविध कसुरमा १ हजार ६ सय ५३ चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित अनुगमन, चेकजाँच तथा विशेष अभियानलाई निरन्तरता दिइएको जनाएको छ। साथै, सवारी चालकलाई नियम पालना गर्दै सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको छ।

प्रकाशित २०८३/०१/०३ बिहिबार ७:०९ बिहान


