
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला ले व्यवसायी साथिहरुको चाहना भएमा आफू महासंघको अध्यक्ष पदमा उम्मेदवार बन्न तयार रहेको बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को आगामी वैशाख २७ देखि २९ गतेसम्म हुने सातौं महाधिवेशनलाई लक्षित गर्दै रातोपाटी सँगको अन्तर्वार्तामा बोल्दै उनले यस्तो बताएका हुन्।
सिटौलाले यातायात क्षेत्रमै लामो समयदेखि तल्लो तहबाट काम गर्दै आएको उल्लेख गर्दै देशभरका व्यवसायी, मिडिया तथा सर्वसाधारणले आफूलाई राम्रोसँग चिन्ने बताए। उनले व्यवसायीहरूले आफूलाई अहिलेसम्म कहिल्यै पनि मतदानमा नहराएको र सधैं विश्वासका साथ जिताउँदै आएको दाबी गरे।
महासंघमा हाल तीन जना वरिष्ठ उपाध्यक्षमध्ये सबैभन्दा बढी मत प्राप्त गरी पहिलो वरिष्ठ उपाध्यक्ष बनेको स्मरण गर्दै उनले स्वाभाविक रूपमा देशभरका व्यवसायीहरूबाट नेतृत्व लिन आग्रह भइरहेको बताए। उनले व्यवसायीहरूको राय, सल्लाह र छलफलपछि मात्र आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने स्पष्ट पारे।
सिटौलाका अनुसार महाधिवेशनमा करिब १८ सयदेखि २२ सयसम्म प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। उनले यसपटकको महाधिवेशनलाई प्रविधिमैत्री बनाउने तयारी भइरहेको जानकारी पनि दिए।
त्यसैगरी, उनले देशभरको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरे। करिब १० खर्बभन्दा बढी लगानी रहेको यस क्षेत्रमा सरकार र समाजको दृष्टिकोण अझ सकारात्मक हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित २०८३/०१/०२ बुधबार ८:२४ बिहान


