काठमाडौं, वैशाख ८ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सप्राइज चेकिङका क्रममा ९८ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाइरहेका ७ जना चालकलाई कारबाही गरिएको छ। त्यसैगरी रातो बत्ती उल्लंघन गर्ने, लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९१ वटा सवारी साधनका चालकलाई समेत कारबाही गरिएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य हो। यसले चालक, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
यदि चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको आशंका लागेमा यात्रुले नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
ट्राफिक प्रहरीले “सुरक्षित यात्रा, हाम्रो साझा जिम्मेवारी” भन्ने सन्देशसहित नियम पालनामा सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित २०८३/०१/०८ मंगलबार १२:४० दिउँसो


