यातायात व्यवस्था विभागले लामो समयदेखि छपाइको प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट लाइसेन्सहरू अब सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन थालेको जनाएको छ। छपाइ प्रक्रिया सम्पन्न भएसँगै सेवाग्राहीले चाँडै आफ्नो लाइसेन्स हात पार्ने अपेक्षा गरिएको छ।
विभागले सार्वजनिक गरेको सूचना अनुसार छापिएका लाइसेन्सहरू विभिन्न कार्यालयहरूमा द्रुत गतिमा पठाइँदैछ। यसले लामो समयदेखि लाइसेन्स नपाएर प्रतीक्षामा रहेका चालकहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।
अब ट्रायल पास गरेका वा नवीकरणका लागि विवरण बुझाएका सेवाग्राहीहरूले आफूले आवेदन दिएको कार्यालयबाटै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्नेछन्। विभागले अन्यत्र धाउनुपर्ने झन्झट नरहने गरी सम्बन्धित कार्यालयमै वितरणको व्यवस्था मिलाइएको जनाएको छ।
लामो समयदेखि स्मार्ट लाइसेन्स वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला विभागको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ। सेवाग्राहीलाई आफ्नो कार्यालयमा सम्पर्क गरी वितरण अवस्थाबारे जानकारी लिन विभागले आग्रह समेत गरेको छ।

प्रकाशित २०८३/०१/०८ मंगलबार २:४७ दिउँसो


