काठमाडौं– काठमाडौं उपत्यकामा नयाँ वर्षकै दिन मंगलबार ट्राफिक प्रहरीले सञ्चालन गरेको विभिन्न निगरानी तथा चेकजाँच अभियानका क्रममा १ हजार २९८ सवारी चालक कारबाहीमा परेका छन्। कारबाहीबाट कुल २ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १४४ जना, सवारी साधनको अवस्था ठीक नभएका ३५ जना, रेड लाइट उल्लंघन गर्ने १११ जना तथा तीव्र गतिमा सवारी चलाउने ८७ जना चालक कारबाहीमा परेका हुन्।
त्यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ४९ जना, ढोका खुला राखेर सवारी चलाउने १८ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ३० जना तथा पिकअप–ड्रप नियम मिच्ने ११ जना चालकलाई पनि कारबाही गरिएको छ।
यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ८१३ जना चालक समेत कारबाहीमा परेको प्रहरीले जनाएको छ। नयाँ वर्षको अवसरमा सवारी चाप बढ्ने भएकाले उपत्यकामा ट्राफिक निगरानी थप कडा बनाइएको र नियम पालना गर्न सबै चालकलाई आग्रह गरिएको छ।

प्रकाशित २०८३/०१/०२ बुधबार ७:५६ बिहान


