
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सप्राइज चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १७ जना चालक कारवाहीमा परेका छन्।
आज मिति २०८३ साल वैशाख १ गते दिउँसो गरिएको चेकिङका क्रममा ती चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कारवाहीमा परेकामध्ये ३ जना प्राइभेट कार चालक रहेका छन् भने १४ जना मोटरसाइकल चालक रहेका छन्।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो। यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्ने भएकाले यस्तो कार्य नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको हो।
यस्तै, यात्रुले चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ। ट्राफिक प्रहरीले “सुरक्षित यात्रा, हाम्रो साझा जिम्मेवारी” भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।
प्रकाशित :- २०८३/०१/०२ बुधबार ७:४५ बिहान


