१८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दलहरू तथा सरोकारवालासँग सुझाव मागेको छ। सरकारले साझा राष्ट्रिय एजेन्डा तय गरी विकास, सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै उक्त मस्यौदा अघि सारेको जनाएको छ।
सरकारका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको घोषणापत्र, निर्वाचन प्रतिबद्धता तथा विभिन्न नीतिगत एजेन्डाबाट कार्यान्वयनयोग्य विषय समेटेर मस्यौदा तयार गरिएको हो। सुझाव संकलनपछि आवश्यक परिमार्जन गरी अन्तिम रूप दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
मस्यौदामा आर्थिक स्थायित्व, कृषि आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, ऊर्जा विकास, खानी तथा खनिज उपयोग, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार, वन तथा वातावरण संरक्षण, सुशासन, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, सामाजिक न्याय, कूटनीतिक सन्तुलन, प्रवासी नेपालीको लगानी परिचालन, खेलकुद विकास, विपद् व्यवस्थापन तथा सहकारी क्षेत्र सुधारलगायत विषय समेटिएका छन्।
सरकारले उक्त प्रतिबद्धतापत्रलाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा दीर्घकालीन विकास योजनासँग जोडेर कार्यान्वयन गर्ने जनाएको छ। सुझावपछि अन्तिम दस्तावेज सार्वजनिक गरिने र त्यसलाई राष्ट्रिय विकासको साझा मार्गचित्रका रूपमा अघि बढाइने बताइएको छ।

प्रकाशित :- २०८३/०१/०२ बुधबार ७:३८ बिहान


