काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ज्यू ले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मंगलबार बिहान आफ्नो करिब ४३ लाख फलोअर्स रहेको फेसबुक पेजमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा संस्कृत श्लोक उद्धृत गर्दै “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥” उल्लेख गर्नुभएको छ।
उहाँले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गर्दै सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा प्रधानमन्त्री शाहले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

प्रकाशित २०८३/०१/०१ मंगलबार १०:५१ बिहान


