काठमाडौँ, वैशाख १ — काठमाडौं उपत्यकाभित्र हिजो मंगलबार ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध गरिएको कारबाहीबाट २० लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न स्थानमा गरिएको नियमित अनुगमन तथा चेकजाँचका क्रममा २ हजार ४७४ जना चालक कारबाहीमा परेका हुन्।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ११३ जना, सवारी साधनको अवस्था ठीक नभएका ५१ जना, रातो बत्ती उल्लंघन गर्ने १४८ जना, तीव्र गतिमा सवारी चलाउने १०२ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी लेन मिच्ने २८५ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ५६ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ५८ जना, पिकअप तथा ड्रप सम्बन्धी नियम उल्लंघन गर्ने ३८ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न कसुरमा १ हजार ६२२ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित रूपमा निगरानी, चेकजाँच र विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न सबै चालकलाई आग्रह गरिएको छ।

प्रकाशित :- २०८३/०१/०१ मंगलबार ८:३३ बिहान


