काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरू माथि सोमबार गरिएको कारबाहीबाट ४ लाख ३० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित अनुगमन तथा विशेष चेकजाँचका क्रममा जम्मा २३०३ सवारी साधनका चालक कारबाहीमा परेका हुन्।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) ८५ जना, अवस्था ठीक नभएका सवारी साधन ७०, रेड लाइट उल्लंघन गर्ने २२३, तीव्र गतिमा सवारी चलाउने १०४, लेन मिच्ने १४७, ढोका खुला राखेर सवारी चलाउने ४९, नो हर्न क्षेत्रमा हर्न बजाउने ३२, पिकअप तथा ड्रपसम्बन्धी नियम उल्लंघन गर्ने ५३ र अन्य विभिन्न कसुरमा १५४० जना चालक रहेका छन्।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन तथा चालकहरूलाई नियम पालना गराउन निरन्तर अनुगमन र कारबाही अभियान सञ्चालन भइरहेको जनाएको छ।

प्रकाशित २०८२/१२/३० सोमबार ७:५६ बिहान


