काठमाडौं, चैत २९ — काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सप्राइज चेकिङका क्रममा १०१ वटा सवारी साधनका चालकलाई कारवाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार आज गरिएको चेकिङमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ। त्यसैगरी रातो बत्ती उल्लंघन गर्ने २ जना तथा लेन अनुशासन नमानी अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९४ जना चालकलाई समेत कारवाही गरिएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको स्मरण गराउँदै यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्ने जनाएको छ।
यात्रुले चालकको अवस्थाप्रति सजग रहन र मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ।
ट्राफिक प्रहरीले “सुरक्षित यात्रा, हाम्रो साझा जिम्मेवारी” भन्दै सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।
प्रकाशित २०८२/१२/२९ आईतबार १:२१ दिउँसो


