
काठमाडौं । उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि गरिएको निगरानी तथा कारबाही अभियानअन्तर्गत हिजो शनिबार मात्रै १३७४ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट कुल ३ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी मापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) कसुरमा ११६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै रेड लाइट उल्लंघन गर्ने १२३, तीव्र गतिमा सवारी चलाउने ९३, लेन मिच्ने ८३ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी सवारी साधनको अवस्था ठिक नभएका ३३, ढोका खुल्ला राखेर सवारी चलाउने ३६, नो हर्न क्षेत्रमा हर्न बजाउने ३५ तथा पिकअप/ड्रप नियम उल्लंघन गर्ने ३१ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ। अन्य विभिन्न कसुरमा १०५१ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित चेकजाँच र निगरानीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ। साथै चालकहरूलाई ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ।

प्रकाशित २०८२/१२/२९ आईतबार १०:४७ बिहान


