काठमाडौँ । वि.सं. २०८२ साल नेपाली राजनीतिक इतिहासमा एउटा नमिमेटिने अध्याय बनेको छ। ‘जेनजी’ (Gen-Z) आन्दोलनको राप र तापबाट सुरु भएको यो वर्ष सत्ताको नाटकीय फेरबदल, पुराना हस्तीहरूको पक्राउ र नयाँ वैकल्पिक शक्तिले देशको बागडोर सम्हाल्ने स्थितिमा पुगेर टुङ्गिएको छ। आज वैशाख १ गते, नयाँ वर्ष २०८३ को अवसरमा नवनियुक्त प्रधानमन्त्री बालेन शाहले मुलुकलाई नयाँ दिशा दिने संकल्पसहित शुभकामना सन्देश जारी गर्नुभएको छ।
२०८२: आन्दोलनदेखि सत्ता परिवर्तनसम्म
वर्षको सुरुवात नै अशान्त रह्यो। भदौ २३ मा जेनजी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि देश शोक र आक्रोशमा डुब्यो, जसले गर्दा तत्कालीन गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्यो। लगत्तै भदौ २४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि रास्वपाका सांसदहरूले सामूहिक राजीनामाको घोषणा गरे। भदौ २५ मा ११ हजारभन्दा बढी कैदी जेल फोडेर फरार भएको घटनाले सुरक्षा व्यवस्थालाई चुनौती दियो।
अस्थिरताका बीच भदौ २७ मा सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनुभयो। सरकारले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्दै उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्यो। मङ्सिर २५ मा प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताले युवाहरूको मागलाई राजपत्रमा अंकित गर्ने निर्णय गर्यो।
नयाँ नेतृत्वको उदय र कानुनी प्रक्रिया
पुस र माघ महिना राजनीतिक धु्रवीकरणका साक्षी बने। पुस १३ मा रवि लामिछाने र बालेन शाहबीच भएको सात बुँदे सहमतिले नयाँ राजनीतिक मार्गचित्र तय गर्यो। माघ २ मा निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दियो।
चैत महिनामा नेपाली राजनीतिले अर्को ठुलो मोड लियो। चैत १३ मा बालेन्द्र (बालेन) शाह प्रधानमन्त्रीमा नियुक्त भई १५ सदस्यीय मन्त्रिमण्डल गठन भयो। नयाँ सरकारले चैत १४ मा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरी कानुनी राज्यको नयाँ सन्देश दियो, यद्यपि उहाँहरू पछि हाजिर जमानीमा रिहा हुनुभयो। चैत २२ मा डोलप्रसाद अर्याल सभामुखमा निर्वाचित भएपछि राज्यका प्रमुख अङ्गहरूमा नयाँ अनुहारको वर्चस्व स्थापित भयो।
प्रधानमन्त्री शाहको नयाँ वर्षको सन्देश
नयाँ वर्ष २०८३ को पावन अवसरमा प्रधानमन्त्री बालेन शाहले संस्कृत श्लोकका साथ देशवासीलाई सम्बोधन गर्नुभएको छ। उहाँले लेख्नुभएको छ:
“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥”
उहाँले सम्पूर्ण नेपालीको जीवनमा सुख, आरोग्य र कल्याणको कामना गर्दै अगाडि भन्नुभएको छ— “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।”
२०८२ मा भएको परिवर्तनको जगमा उभिएर नयाँ सरकारले सुशासन र समृद्धिको यात्रा अघि बढाउने लक्ष्य लिएको छ।
प्रकाशित २०८३/०१/०१ मंगलबार २:१८ दिउँसो


