काठमाडौँ- केही दिनअघि पक्राउ परेका केपी शर्मा ओली आज हाजिरी जमानीमा रिहा भएका छन्। रिहाइसँगै उनले सामाजिक सञ्जालमार्फत सरकारमाथि गम्भीर आरोप लगाएका छन्।
ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको दाबी गरेका छन्। तर मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा हुनुपरेको उनको भनाइ छ।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।
यसैबीच, आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले नै उपचार खर्च व्यहोर्ने उनले स्पष्ट पारेका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशित २०८२/१२/२६ बिहिबार २:३८ दिउँसो


