नेपाल सरकार मन्त्रिपरिषद्ले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उठाइने दस्तुर दर सार्वजनिक गरेको छ। सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्ले गत साउन २६ गते गरेको निर्णयका आधारमा हिजो चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी उक्त दर सार्वजनिक गरिएको हो।
प्रकाशित दर अनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि ६५ रुपैयाँ र बाहिरिने क्रममा ६० रुपैयाँ शुल्क तोकिएको छ।
त्यसैगरी, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरिएको छ। बस तथा सिङ्गल रियर एक्सल ट्रकका हकमा प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि भने प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था गरिएको छ।

प्रकाशित :- २०८२/१२/२७ शुक्रबार १०:१४ बिहान


