काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन लगातार सार्वजनिक बिदाको व्यवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाइराख्न सम्बन्धित निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मिति २०८२ साल चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम अब शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू हुने व्यवस्था गरिएको छ। सोही सन्दर्भमा मन्त्रालयले स्वास्थ्य सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले निर्देशन जारी गरेको हो।
मन्त्रालयले जारी गरेको निर्देशन अनुसार अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्ति मूल्यांकन गरी आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै हप्तामा शनिबार बाहेक अर्को एक दिन बिदा दिने गरी दुई दिन बिदा सुनिश्चित गर्नुपर्नेछ। यदि सो व्यवस्था सम्भव नभएमा कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि सोही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी बनाइराख्न सबै निकायलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गरिएको छ।

प्रकाशित २०८२/१२/२७ शुक्रबार १०:४६ बिहान


