
काठमाडौं । उपत्यकाभित्र राइड सेयरिङ सेवाको प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला तथा विभिन्न विदेशी तथा स्वदेशी एप्लिकेशनहरूको भिडबीच ट्याक्सी चालककै नेतृत्वमा सञ्चालनमा आएको नयाँ राइड सेयरिङ एप्लिकेशन छिटो (XITO) बजारमा प्रवेश गरेको छ।
हालसम्म सञ्चालनमा आएका अधिकांश राइड सेयरिङ प्लेटफर्महरू ट्याक्सी व्यवसाय भन्दा फरक क्षेत्रका व्यवसायी तथा लगानीकर्ताबाट सञ्चालित हुँदै आएका थिए । तर छिटो (XITO) भने लामो समयदेखि सडकमा श्रम गरिरहेका ट्याक्सी चालकहरूकै पहलमा सञ्चालनमा ल्याइएको हो ।
यो एप्लिकेशन उपत्यका सार्वजनिक यातायात प्रा.लि. द्वारा सञ्चालनमा ल्याइएको हो। कम्पनीका प्रमुख सञ्चालकहरूमा करिब २० वर्षदेखि ट्याक्सी चलाउँदै आएका अनुभवी तथा वरिष्ठ चालक भिम बहादुर घिसिङ, राजन कुमार श्रेष्ठ र राजु श्रेष्ठ रहेका छन्। उनीहरू सफल ट्याक्सी चालक तथा व्यवसायीको रूपमा उपत्यका मा परिचित छन् भने उनीहरु तिनै जना बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका कार्याकारी प्रतिनिधि समेत हुन् ।
उक्त एप्लिकेशन लामो समयदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि विभिन्न प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय कारणले सेवा सुरु हुन सकेको थिएन। तर अहिले भने चालक तथा यात्रु दुवैले एप डाउनलोड गरी बुकिङ गर्न सक्ने तथा सेवा लिन सक्ने अवस्था बनेको सञ्चालक पक्षले जनाएको छ।
विशेष कुरा के छ भने, एपको प्रचारप्रसारदेखि चालक दर्ता अभियानसम्म सञ्चालकहरू आफैं सडकमा खटिएका छन्। उनीहरू विभिन्न स्थानमा पुगेर ट्याक्सीमा स्टिकर टाँस्ने, चालकलाई जानकारी दिने तथा प्रत्यक्ष रूपमा दर्ता गराउने अभियानमा सक्रिय देखिएका छन्।
सञ्चालकहरूका अनुसार छिटो (XITO) ले नेपाल सरकारद्वारा तोकिएको मिटर प्रणाली अनुसार सेवा प्रदान गर्दै आएको छ। यात्रुले मिटर अनुसार पारदर्शी भाडा तिर्ने तथा चालकले पनि उचित आम्दानी पाउने व्यवस्था गरिएको दाबी गरिएको छ।
उनीहरूका अनुसार केही विदेशी एप्लिकेशनहरूले चालकको श्रमको उचित मूल्य नदिने, अत्यधिक कमिशन काट्ने तथा श्रम शोषण गर्ने गुनासो बढिरहेका बेला छिटो एपले चालक र यात्रु दुवैलाई सहज, सुरक्षित र न्यायोचित सेवा दिने लक्ष्य लिएको छ।
हाल काठमाडौं उपत्यकाभित्र करिब २५ देखि २६ वटा राइड सेयरिङ एप्लिकेशनहरू दर्ता भई सञ्चालनमा रहेको पाइन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय कम्पनी Uber नेपाल प्रवेश गर्ने चर्चा समेत चलिरहेको छ, जसले आगामी दिनमा बजार प्रतिस्पर्धा अझ बढ्ने संकेत गरेको छ।
काठमाडौं उपत्यकामा हाल करिब १५/१६ हजारको संख्यामा ट्याक्सीहरु सञ्चालनमा छन्। बदलिँदो प्रविधिसँगै परम्परागत ट्याक्सी सेवा पनि डिजिटल प्लेटफर्ममा रूपान्तरण हुँदै गएको देख्न सकिन्छ । यस्तो अवस्थामा चालक स्वयंले बनाएको र सञ्चालन गरेको छिटो (XITO) लाई स्वदेशी श्रमिकको पहलबाट जन्मिएको नयाँ विकल्पका रूपमा हेरिएको छ।
अब यात्रुले सस्तो, छिटो र पारदर्शी सेवा पाउने अपेक्षा गरिएको छ भने चालकहरूले पनि आफ्नै स्वामित्वको प्लेटफर्ममार्फत सम्मानजनक आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित २०८३/०१/०७ सोमबार ४;५७ दिउँसो


