काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले आफूमाथि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विभिन्न आरोपबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक स्पष्टीकरण दिएका छन्। उनले पछिल्ला दिनमा आफ्नो नाम जोडेर अनेक चर्चा भइरहेको भन्दै तथ्य स्पष्ट पार्न आवश्यक ठानेर धारणा सार्वजनिक गरेको बताएका छन्।
गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको बताएका छन्। Star Micro Insurance र Liberty Microमा रहेको लगानी पनि सोही समूह अन्तर्गत समेटिएको भन्दै उनले यो लुकाउने नभई वर्गीकरणको विषय भएको जिकिर गरेका छन्।
उनले मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयलाई पनि अपराधका रूपमा प्रस्तुत गरिएको भन्दै सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको दाबी गरेका छन्। रकम कहिले, कहाँ र कसलाई गयो भन्ने सम्पूर्ण विवरण बैंक अभिलेखमा देखिने भएकाले लुकाउने प्रश्न नै नउठ्ने उनको भनाइ छ।
गुरुङका अनुसार लगानीका लागि प्रयोग गरिएको रकम ऋणमार्फत जुटाइएको हो। उनले २०८०/०५/२९ गतेको लिखित तमसुक अनुसार कर्जा लिइएको र सोही रकम बैंकिङ प्रणालीमार्फत लगानीमा प्रयोग गरिएको बताएका छन्।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी रहने भएकाले सेयर खरिद गर्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। त्यही कम्पनीमा विभिन्न मिडिया हाउसदेखि बैंकसम्म लगानी रहेको उल्लेख गर्दै सबैलाई दोषी भन्न नमिल्ने तर्क गरेका छन्।
“Conflict of interest” सम्बन्धी आरोपबारे उनले यस विषयमा अनुसन्धान गर्ने निकाय गृह मन्त्रालय नभई सम्पत्ति शुद्धिकरण विभाग रहेको बताएका छन्। सो विभाग अर्थ मन्त्रालयअन्तर्गत रहेकाले प्रक्रिया अनुसार विषय अघि बढिरहेको र आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।
व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने भन्दै उनले पछि भएका घटनालाई अघिको निर्णयसँग जोडेर दोषारोपण गर्नु तथ्यभन्दा सुविधा अनुसारको व्याख्या भएको बताएका छन्।
कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया नदिएको उल्लेख गर्दै उनले “हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ” भनेका छन्।
अन्त्यमा गुरुङले आरोप र सत्य एउटै कुरा नभएको भन्दै निर्णय भावनाले नभई प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। साथै, पार्टीले गर्ने हरेक निर्णय पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
प्रकाशित २०८३/०१/०७ सोमबार २;३२ दिउँसो


