
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले सुकुम्बासी परिवारहरूलाई उचित बसोबास र जीविकोपार्जनको विकल्प उपलब्ध नगराई जबर्जस्ती उठीबास लगाउने तथा घर टहरा भत्काउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले यस्तो कदम अमानवीय भएको उल्लेख गर्दै यसले पीडित परिवारलाई विचलित पार्नुका साथै सीमान्तकृत समुदायको राज्यप्रतिको विश्वास कमजोर बनाउने खतरा रहेको बताएको छ। सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष माग गरिएको छ।
विज्ञप्तिमा नयाँ सरकार गठन लगत्तै महँगी र कालोबजारी बढेको भन्दै तत्काल नियन्त्रण गर्न पनि आग्रह गरिएको छ। साथै संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास आपत्तिजनक रहेको पार्टीको भनाइ छ।
नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति समेत पार्टीले चिन्ता व्यक्त गर्दै सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टीले वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको ठूलो अपेक्षा गरेको उल्लेख गर्दै सरकारले अघि सारेका सकारात्मक प्रतिबद्धताहरूलाई स्वागत गरे पनि शासन सञ्चालन प्रक्रिया र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही तथा एकपक्षीय दृष्टिकोण चिन्ताजनक रहेको जनाएको छ।
पार्टीले लोकतान्त्रिक अधिकार संस्थागत गर्दै सुकुम्बासी, किसान, मजदुर तथा उपेक्षित समुदायप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित २०८३/०१/०६ आईतबार २;३१ दिउँसो


