
काठमाडौं, आइतबार । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकारले मन्त्रीहरूलाई आइफोन वितरण गर्न लागेको भन्ने समाचार भ्रामक र आधारहीन भएको बताएका छन्।
आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले यस्तो विषय केवल हल्ला मात्र भएको स्पष्ट पारे। उनले सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने चर्चा कसको कल्पनाबाट सिर्जना भयो भन्ने प्रश्न समेत उठाएका छन्।
मन्त्री तिमिल्सिनाले आफ्नो फेसबुकमार्फत पनि प्रतिक्रिया जनाउँदै नागरिकलाई कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको स्रोत र विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरेका छन्।
उनले लेखेका छन्, “यो सरकार हरेक पल नागरिकलाई सुन्दर भविष्य दिन कसरी सकिन्छ भन्नेमा केन्द्रित छ, नागरिकको करको पैसाको दुरुपयोग गर्न होइन। जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौं।”
साथै उनले सरकारलाई कम्तीमा तीन महिना बिना अवरोध काम गर्न दिनुपर्ने समयमा केही सञ्चार माध्यमहरूले भ्रामक समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाएको आरोप समेत लगाए।
मन्त्री तिमिल्सिनाले सरकार जनउत्तरदायी ढंगले काम गरिरहेको भन्दै गलत सूचना फैलाउने कार्यप्रति सजग रहन सबैलाई आग्रह गरेका छन्।
प्रकाशित २०८३/०१/०६ आईतबार ९:४५ बिहान


