काठमाडौं ।नेपाली कांग्रेस ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै सरकारसमक्ष तत्काल नियन्त्रणका लागि विभिन्न मागहरू अघि सारेको छ।
कांग्रेसले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण स्वतः बढ्न गएको मूल्य अभिवृद्धि कर (VAT) मा सहुलियत दिई उपभोक्तालाई फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गरेको छ। साथै, पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू आंशिक रूपमा हटाउने वा घटाउने नीति अवलम्बन गर्न पनि माग गरिएको छ।
त्यसैगरी, हाल पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढिरहेको अवस्थामा करका दरहरू समग्र रूपमा पुनरावलोकन गरी घटाउनुपर्ने कांग्रेसको भनाइ छ। भन्सार र VAT बाहेकका अन्य विविध करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने व्यवस्था गर्न समेत आग्रह गरिएको छ।
कांग्रेसले बढ्दो यातायात खर्चका कारण प्रत्यक्ष प्रभावित हुने विद्यार्थीहरूका लागि विशेष सहुलियतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीले मूल्यवृद्धिले आम उपभोक्ता, विद्यार्थी तथा सर्वसाधारणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै तत्काल राहतमुखी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।

हाल काठमाडौँ लगाएतका क्षेत्रहरुमा पेट्रोल प्रति लिटर रु.२१९ र डिजेल प्रति लिटर रु.२३७ कायम रहेको छ ।

प्रकाशित २०८३/०१/०५ सनिबार ४:३५ दिउँसो


