
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार हिजो शनिबार मात्रै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएको विशेष ट्राफिक निगरानी तथा कारबाही अभियानबाट ४ लाख ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ७७ सवारी चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ। कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८९ जना, सवारी साधनको अवस्था ठीक नभएका ५६ जना, रेड लाइट उल्लंघन गर्ने १९५ जना, तीव्र गतिमा सवारी चलाउने १०६ जना, लेन मिच्ने १०४ जना, ढोका खुल्ला राखी सवारी चलाउने ४८ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ९८ जना तथा पिकअप/ड्रप नियम उल्लंघन गर्ने ३९ जना रहेका छन्।
त्यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय ४२ जना चालकसमेत कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले उपत्यकामा सुरक्षित, व्यवस्थित र अनुशासित सवारी सञ्चालनका लागि नियमित अनुगमन तथा कारबाहीलाई थप कडाइ गरिएको जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियम पालना गरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरिएको छ।

प्रकाशित २०८३/०१/०६ आईतबार ८:११ बिहान


