काठमाडौं । सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि पार्टी सभापति गगन थापा ले सामाजिक सञ्जालमार्फत एकता र पुनर्जागरणको सन्देश दिएका छन्। सर्वोच्च अदालतले शुक्रबार थापा नेतृत्वलाई आधिकारिक नेपाली कांग्रेसका रूपमा मान्यता दिँदै तीन महिनादेखिको विवाद अन्त्य गरेको थियो।
शनिबार फेसबुक मार्फत प्रतिक्रिया दिँदै थापाले अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै कांग्रेसलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनेको बताएका छन्। उनले यो कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको उल्लेख गरेका छन्।
थापाले देशभित्र वा बाहिर रहेका पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकहरूलाई आ–आफ्नो स्थानबाट पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। साथै, पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो रहेको भन्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै महाधिवेशनलाई सफल पारेर पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने पार्टी बनाउन अब सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित २०८३/०१/०५ सनिबार ११:३९ बिहान


