काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको आधिकारिक फेसबुक पेजमा फलोअर्स संख्या १० लाख (एक मिलियन) पुगेको छ। शनिबार उनका सामाजिक सञ्जाल समर्थकहरूले यो उपलब्धिलाई विशेष उत्साहका साथ मनाएका छन्।
सुधन गुरुङ पछिल्लो समय जनतामाझ तीव्र रूपमा लोकप्रिय बन्दै गएका नेता मानिन्छन्। जेन–जी आन्दोलनबाट उदाएका उनी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोर्खा–१ बाट अत्यधिक मतसहित विजयी भएका थिए। त्यसपछि बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन्।
गृहमन्त्री बनेको एक महिना पनि नपुग्दै उनले सुशासन, पारदर्शिता र कानुनी कारबाहीमा सक्रियता देखाएका छन्। भ्रष्टाचारका फाइल खोल्ने, उच्च पदस्थ व्यक्तिहरू माथि अनुसन्धान अघि बढाउने तथा भिआइपी वर्गसमेत कानुनको दायरामा ल्याउने काममा उनले तीव्रता दिएका कारण आमजनता बाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।
सुधन गुरुङ मन्त्री बन्नु अघि फेसबुकमा करिब ३ लाख फलोअर्स मात्र थिए। तर गृहमन्त्री बनेपछि छोटो समयमै फलोअर्स संख्या ह्वात्तै बढेर १० लाख पुगेको हो। यसलाई जनताले उनको कार्यशैली प्रति देखाएको विश्वासका रूपमा हेरिएको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह को फेसबुकमा सबैभन्दा बढी करिब ४० लाख फलोअर्स रहेको छ। सामाजिक सञ्जालमा सरकारका प्रमुख अनुहारहरू बीच लोकप्रियताको प्रतिस्पर्धा समेत बढ्दै गएको देखिन्छ।
सुधन गुरुङ ले पछिल्ला दिनहरूमा सुरक्षा सुधार, प्रशासनिक कडाइ, संगठित अपराध नियन्त्रण तथा नागरिकको गुनासो प्रत्यक्ष सुन्ने शैली अपनाउँदै आएका छन्। यही कारण उनी अहिलेका चर्चित र उदयमान नेतामध्ये एक मानिन थालेका छन्।

प्रकाशित २०८३/०१/०५ सनिबार १०:१५ बिहान


